नियम ४७
सदस्यको मृत्यु भएमा अर्को सदस्य मनोनयन गर्ने
(१) समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित कुनै सदस्यको मृत्यु भई, राजीनामा दिई, दल त्याग गरी वा अन्य कुनै कारणले पद रिक्त भएमा प्रदेश सभाको सचिवालयले आयोगलाई जानकारी गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पद रिक्त भएको जानकारी प्राप्त भएपछि आयोगले सम्बन्धित दललाई अर्को उम्मेदवारको नाम मनोनयन गरी पठाउन सात दिनको समय दिई जानकारी गराउनेछ ।
(३) उपनियम (२) बमोजिमको जानकारी प्राप्त भएपछि सम्बन्धित दलले दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णय अनुसार उम्मेदवारको बन्दसूचीमा कायम रहेको अर्को उम्मेदवारको नाम मनोनयन गरी पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम दलले उम्मेदवार मनोनयन गरी पठाउँदा जुन समावेशी समूहको सदस्यको पद रिक्त भएको हो उपलब्ध भएसम्म सोही समावेशी समूहको उम्मेदवारको नाम मनोनयन गरी पठाउनु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम दलले मनोनयन गरी पठाएको उम्मेदवारलाई आयोगले सदस्य पदमा निर्वाचित भएको घोषणा गर्नेछ ।